05 May, 2017

दिलबहादुर घरब्जाको स्मृतिमा क्रिकेट प्रतियोगिता !

बैशाख २१, बुटवल । नेपाल छन्त्याल संघ रुपन्देहीले बुटवलमा क्रिकेट प्रतियोगिता गर्ने भएको छ । स्वर्गीय दिलबहादुर घरब्जाको स्मृतिमा संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउन सफल रहेको क्रिकेट खेलको विकाससँगसंगै जातिय पहिचानका लागि प्रतियोगिताको आयोजना गरेको संघका अध्यक्ष भरत घरब्जाले बताए । 

बिहीबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालले यस्ता रचनात्मक कार्यले जिल्लामा रहेका छन्त्यालहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने आशा राखे ।

बैशाख २३ गतेदेखि बुटवल महानगरपालिका १२ धवाहामा रहेको छन्त्याल भवनस्थित खेल मैदानमा शुरु हुने प्रतियोगितामा जिल्लाका २० समूहले प्रतिष्पर्धा गर्ने छन् । खेल संयोजक नवीन घरब्जाका अनुसार प्रथम समूहलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्वितीय हुनेले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  

उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिने बताइएको छ ।