10 July, 2017

लोप हुनै लाग्यो अब छन्त्याल बस्तीमा घन्किने लालै गीत !

- भरत छन्त्याल 

नेपाल बहुजाती, बहुभाषि साथसाथै बहुसँस्कृति भएको देश हो । बहुजाती, बहुभाषि तथा बहुसाँस्कृतिक देश भएकोले विभिन्न जातजातीहरुको लोकसँस्कृतिमा विविधता हुनु स्वाभाविक हो । त्यसको अलावा नेपालमा भौगोलिक विविधता पनि भएको हुनाले भौगोलिकता अनुसार पनि यहाँको मानिसहरुको सँस्कृति अलग अलग रहेको पाईन्छ । त्यहि लोकसँस्कृतिहरु मध्ये कतिपय लोप भईसकेका छन् त कति लोप हुने अवस्थामा छन् । तिनै लोप हुन लागेको सँस्कृतिमध्यको केहि गितहरुको चर्चा यहाँ गर्न लागिएको छ । लोप हुन लागिएकोमा पनि बागलुङ्गको पश्चिम भेगमा कुनै समयमा चर्चित रहेको गितहरु लालै, भै’च नानिलै, भाका, यानिमाया र मयालीको यहाँ चर्चा गर्न लागिएको हो ।

यि गितहरुमध्ये भै’च नानिलै, भाका, यानिमाया र मयाली जुनसुकै अवस्थामा पनि गाउन मिल्ने गित हो भने लालैको छुट्टै विशेषता छ । लामो स्वर भएको र लामै ताल भएको गितहरुमा पर्ने लालै गित आजसम्म न कुनै एल्बममा रेकर्ड भएको छ न त यसको चलनअनुसार समुदायमा नाच्ने गाउने नै गरिन्छ । यो विशेषत बाग्लुङ्गको पश्चिम भेगका आदिबासीहरु (मगर, छन्त्याल र थकाली) ले विभिन्न पर्वहरुको अवसर पारेर गाउने गित हो । प्राय नेपाली लोक गितहरुको समानता भनेको गित सामुहिक हुनु, दोहोरी हुनु र माया प्रेमलाई केन्द्र बनाउनु हो । यो गित सामुहिक भएपनि दोहोरी र माया प्रेम केन्द्रित भने होईन ।

लालै गितमा एउटाले गाउने र समुहको अन्य सदस्यहरुले छोप्ने गरिन्छ । जसअनुसार अनिवार्य पुरुषले नै गाउने चलन छ भने महिला सदस्यहरुले छोप्ने चलन रहिआएकोृ छ । चलनचल्ति अनुसार लालै गितको आफ्नो छुट्टै नृत्य पनि छ । लालै गितको नृत्यमा पनि आफ्नो छुट्टै नियमहरु छन् । यो गितको नियमअनुसार नृत्यगर्नेहरु चारजना अथवा तिनजनाको समुहमा हुन्छन । लालैमा नृत्य गर्नेहरु मरुले (मादल बजाउने), पुष्र्यौली (खैँजडी अथवा पाउजु लगाएर नाच्ने) र मारुनी÷सिङ्गारु (महिलाको पहिरन लगाउने पुरुष) एकएकजना र एउटा थप पुरुष गरी चारजना हुन्छन् । नृत्य गर्नेहरुमा पनि कहिकतै मरुले दुईजना राखेर चारजनाले नृत्य गर्छन भने कहिकहि मरुले, पुष्र्यौली र मारुनी÷सिङ्गारु गरी तिनजना मात्र पनि नृत्य गर्ने चलन रहिआएको छ ।

लालैमा नृत्य गर्नेमा पनि यसको गायनमा जस्तै पुरुषमात्र नाच्ने चलन छ । यसगितसँग सम्बन्धित जानकारहरुको अनुसार यस गितमा पुरुषहरुलाईमात्र नचाइएको र गाउन लगाईएको हुनसक्ने बताउछन् । यो गित प्राय गरेर तीनओटा शुभकार्यहरु कालरात्रि जगाउँदा, देउसी भैलो खेल्दा र पुत्पुराउमा गाउने अथवा नृत्य गर्ने गरिन्छ ।

प्रचलित चलनचल्ति अनुसार कालरात्रि दशै टिकाको दुई दिनअगाडि र फुलपातीको पछिल्लो दिन दुर्गा(महाअष्टमि) मा पर्दछ । महाअष्टमीकै राति कालरात्रि जगाईन्छ । कालरात्रि जगाँउदाको राति गाउँलेहरु गाउँको मुखियाको घरमा जम्मा भएर स्थानिय कोटमा जाने चलन छ । मुखियाको घरबाट कोटसम्मको बाटोमा लालै गाउने र नाच्ने परम्परा छ । त्यहि बेलामा मात्र लालैको टुक्काहरु गाईन्छ । मुखियाको घरबाट कोटमा पुगेपछि भने लालै गाउन बन्द गरेर सरस्वति अथवा देविदेवता बर्नाउने(बन्दना) गरिन्छ अर्थात देविदेवताको गुनगान गाउँदछन् । यसरी सरस्वति बर्नाउँदा देवि चढ्ने व्यक्तिहरु भने काप्छन् र साकेमार्दा काप्न छोड्छन् । सरस्वति बर्नाउदा पनि लालैकै तालसँग मिल्दोजुल्दो तरिकाले बर्नाईन्छ । त्यसरी सरस्वति बर्नाईसकेपछि मात्र कालरात्रि जागेको विश्वास गरिन्छ ।

त्यस्तै लालै गितसँग देउसी भैलोको पनि सुमधुर सम्बन्ध रहेको छ । जसरी कालरात्रि जगाउँदा लालैबाट सुरुवात गरिन्छ त्यसरी नै देउसी भैलोमा पनि सुरुवातमा अर्थात दाताको घरमा नपुग्दासम्म बाटोमा लालै नै नाच्ने र गाउने गर्दछन् । सो अवसरमा लालैको टुक्का बाटोमा गाईन्छ र दाताको घरआँगनमा पुगेपछि लालै बन्द गरि भैलो गाउछन्(बताउछन्) । यसरी हेर्दाखेरी भैलो खेल्न जाने घरमा भैलो आउँदैछ भन्ने जानकारी दिनको लागी लालै गाएको हुनसक्ने अनुमान गर्न सकिन्छ । दाताको घरमा पुगेपछि लालै गाउन छोडेर भैलो सुरु गर्ने चलन रहेको थियो । भैलो बताउदा पनि सुरुवातमा भैलो सत्ययुगबाट नै देउघर र राजघरहरुबाट सुरु भई चलिआएको रिति हुनाले दातालाई गाह्रो नमान्न आग्रह गरिन्छ । त्यसपछि भने भैलोमा बताउने विभिन्न कथाहरु जस्तै दिदिभाई अनि सर्पको कथा, मादल, डमरु अनि खरी कसरी बनाईयो भन्ने कथाहरु भनिन्छ । यहि कथा भन्ने विचमा नै दाताले दान दिन्छन । अनि मात्र दातालाई आशिर्वाद दिने चलन रहेको छ ।

यसरि आशिर्वाद दिएर मात्र भैलो सकिदैन । आशिर्वाद दिएपछि चुड्केला अर्थात चुड्का गाईन्छ । चुड्कामा भने लालै जस्तो एउटाले मात्र गाउने नियम छैन यसमा दोहोरो पनि गाउने चलन छ । चुड्का गाएर सकिएपछिमात्र भैलो अर्को घरतिर प्रस्थान गर्दछ । यसरी एउटा दाताको घरबाट अर्को दाताको घरमा जाने क्रममा पनि बाटोमा लालैकै नाच तथा टुक्का गाउने गरिन्छ । अहिले भैलोपनि परम्परागत रुपमा खेल्न छोडिएको छ ।
गाउँघरतिर जेठो छोरो जन्मेको खुशियालिमा पुत्पुराउ दिने चलन थियो । लालैजस्तै पुत्पुराउ पनि अहिले लोप हुने अवस्थामा छ । कहिँकतै बाहेक आजकल पुत्पुराउ दिने चलन हटिसकेको छ । पुत्पुराउ विशेषत पहिले छोरी भईसकेको भएतापनि जेठो छोरो जन्मिदा मात्र दिईन्छ । पुत्पुराउमा पनि सुरुमा लालै नै गाउने चलन छ । यो अवसरमा भने मानिसहरु कुनै एकठाउँमा भेला भएर पहिलो छोरो जन्मेको घरसम्म जाँदा बाटोमा लालै गाउने गर्छन । यसरी लालै गाउँदै उक्त घरमा पुगिसकेपछि भने कालरात्रि जगाउँदाको जस्तै देविदवताको गुनगान गाउने अर्थात सरस्वति बर्नाउने गरिन्छ ।

पुत्पुराउमा सरस्वति बर्नाउँदा पनि कालरात्रि जगाउँदा जस्तै देवि चढ्ने व्यक्तिहरु काप्छन् र साके मार्दा काप्न छोड्छन् । पुत्पुराउमा लालै गाईसकेपछि सरस्वति बर्नाईन्छ अनिमात्र खेलीनाच र सोरठिनाच नाचिन्छ । जसको मादलको ताल पनि फरक हुन्छ । जसरी लालै लोप हुने अवस्थामा छ त्यसरी नै खेलिनाच र सोरठिनाच पनि लोप हुने अवस्थामा पुगिसकेको छ । यसरी सोरठि नाच र खेलिनाच नाचिसकेपछि भने चुड्का अर्थात चुड्केला गाउने गरिन्छ । यसमा गाईने चुड्केला भने दोहोरीमा गाउन सकिन्छ । खेलिनाच र सोरठि नाचमा मरुलेले मादल २२ थुँगा हान्ने अर्थात २२ ताल बजाउने गर्दछन् । जसअनुसार ताल फेरीरहनपर्ने हुन्छ र दुईतिनजना मरुलेको ताल एउटै हुन जरुरी हुन्छ । पुत्पुराउ दिएको घरमा नाचे गाएवापत घरधनिले अर्थात पुत्पुराउ दिने व्यक्तिले दान दिएर पठाउँछन् ।

समग्रमा हेर्दाखेरी लालै गित कालरात्रि जगाउँदा, देउसि भैलो खेल्दा र पुत्पुराउ दिँदा तिनओटै शुभकार्यहरुको सुरुवाति गित हो । लालै गित गाउने स्थानहरुमा गएर अनुसन्धान गर्ने हो भने यो गित गाउन छोडिएको धेरै भएको छैन । लालै गित १० वर्षे जनयुद्धको सुरुवात तिरबाट बिस्तारै गाउन छोडिएको विश्वास गरिन्छ । यसरि हेर्ने हो भने लालै गितको संरक्षण र संवद्र्धनमा लाग्ने हो भने यसको सजिलै उत्थान गर्न सकिन्छ । लालै गित सबभन्दा पछिल्लो पुस्ताले मात्र गाउन जानेका छैनन ।

लालै गित गाउँदा सुरुमा लालै हो भन्दै तिनचोटि भनिन्छ त्यसपछि टुक्का उठाईन्छ । यसरी टुक्का उठाउँदा पनि टुक्काको पहिलो भागको अन्त्य हुनुभन्दा केहि अगाडि लालै हो भनिन्छ भने पहिलो भागको समाप्तिसँगै सबैजनाले हऽऽहऽऽ भनेर गाउनु पर्दछ जसलाई कोरसको रुपमा हेर्न सकिन्छ । हऽऽहऽऽ गाउँदाखेरी एउटा गाउँबाट गाएको अर्को गाउँसम्म सुनाउने चलन रहेको थियो । त्यसरी हऽऽहऽऽ गाईसकेपछि मात्र टुक्काको दोश्रो भाग उठाउने गरिन्छ । दोश्रो भागमा पनि पहिलो भागको जस्तै नियम रहेको छ । यसरी गाईसकेपछि अर्को टुक्का उत्थान गर्दा अथवा त्यसैलाई पुन दोहो¥याउँदा फेरी लालै हो बाट सुरु गरिन्छ । जसलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।

लालै हो, लालै हो, लालै हो
     बाटो माथी बाटो मुनी लालै हो गोले बच्छिम हऽऽहऽऽ
     हित्त चित्त मिल्यो भने लालै हो पसौँ पश्चिम हऽऽहऽऽ
लालै हो,............

लालैबाहेक बागलुङ्गको पश्चिम भेगमा गाईने अन्य लोप हुने अवस्थाका गितहरुमा भै’च नानिलै, भाका, यानिमाया, मयाली आदि पनि पर्दछन् । यि सबै गितहरु झाम्रे(सायद झ्याउरे) लयका गितहरु हुन् । यि चारमध्ये पनि विक्रमसम्वत १९८० देखि २००० सम्म प्रचलित रहेको भै’च नानीलै सबभन्दा लामो स्वरको गित मानिन्छ । भै’च नानीलैको स्वर लामो भएकैले पछि त्यो भन्दा केहि छोटो स्वरको गित भाका आएको विश्वास गरिन्छ । भै’च नानीलै र भाका जान्ने व्यक्तिहरु भेटिन गाह्रो पर्छ ।

भाका भन्दा छोटो स्वर भएको गित यानिमाया हो । म्याग्दि जिल्लाबाट बागलुङ्ग भित्रिएको लय यानिमाया पनि सायदै लोप हुने अवस्थामा पुगिसकेको छ । म्याग्दि जिल्लाकै अर्को लयको गित सालैजो पर्याप्त एल्वमहरु बजारमा आएर पर्याप्त चर्चा पाईसकेपनि यानिमायाले भने चर्चा पाउन सकेको छैन । सालैजोको एल्वमहरु रेकर्ड भएर चर्चित हुनुमा सायद यसको स्वर यानिमायाको भन्दा छोटो भएकोले हुनसक्छ । भै’च नानिलै, भाका र यानिमाया लामो स्वरको भएतापनि मयालि भने छोटो स्वरको गित हो ।

मयालि छोटो स्वरको भएतापनि पछिल्लो पुस्ताका युवाहरुको रोजाईको गित भने होईन । मयालीको पनि गाउने आफ्नो छुट्टै शैलि छ यो गित रेकर्ड भईसके पनि यसले संगितको माहौलमा आफ्नो बेग्लै पहिचान भने बनाउन सकेको छैन । भै’च नानिलै, भाका र यानिमाया मादलको तालमा गाईने गित हो भने मयाली बाजा(पञ्चै र नैमति दुवै)को तालमा गाईने गित हो । बाजाको धुनमा पनि सयौँ गितहरु बजारमा उपलब्ध छन् र चर्चित पनि छन् । तर अन्य बाजाको गितजस्तो मयालीमा एउटा टुक्का एकैपटकमा गाईदैन । मयालीमा टुक्काको अघिल्लो भाग गाईसकेपछि बाजाको धुन हालिन्छ अनि त्यसपछिमात्र टुक्काको पछिल्लो भाग गाउने गरिन्छ ।

भै’च नानिलै, भाका, यानिमाया, मयालीको आ–आफ्नै नियम भएकाले पश्चिमी बागलुङ्गको लोक सँस्कृतिक ईतिहासको छुट्टा छुट्टै कालखण्डमा आफ्नो उपस्थिती जनाएको देखिन्छ । भै’च नानिलै, भाका, यानिमाया, मयाली गितहरुको उपस्थिती हेर्दा एउटाले अर्कोलाई विस्थापित गरेको देखिन्छ । तर यी चारवटा गितहरुको उपस्थितीसँग लालैको भने कुनै सम्बन्ध रहेको पाईदैन । लालै गितको जस्तो अन्य गितहरुको आफ्नो बेग्लै नृत्य पनि छैन । अझ अर्को ठुलो फरक भनेको भै’च नानिलै, भाका, यानिमाया र मयाली गितहरु दोहोरी हुन भने लालै एउटाले मात्र गाउने गित हो । लालै जबदेखि दशैं, तिहार र पुत्पुराउ प्रचलनमा आए त्यतिखेर देखि नै गाउँदै र नाच्दै आएको हुनसक्छ किनभने यो गितको दशैं, तिहार र पुत्पुराउसँग प्रत्यक्ष सम्बन्ध रहेको छ । यसरी हेर्ने हो भने उल्लेख गरिएको अन्य गित भन्दा लालै पुरानो गित हो ।

यानिमाया र मयालि गाउन जान्ने मानिसहरु पनि धेरै छन । धेरै हुँदा हुँदै पनि लालै जस्तै यी गितहरु गाउन छोडिएको छ । सायद पुरानो सँस्कृतीहरु लोप हुने क्रमसँगै यी गितहरु गाउन जान्ने व्यक्तिहरु पनि हराउँदै जानेछन् र बिर्सिदै गईनेछ । कोठामा बसेर लेखिएका ठेट नेपाली गितहरुले यी यस्ता वास्तविक ठेट नेपाली सँस्कृतिका गितहरुलाई उछिन्दै गएको विश्वास गर्न सकिन्छ । कोठाभित्र बसेर व्यापारका लागि रचना गर्ने दोहोरी गितका सर्जकहरुले केहि परिश्रम गरेर माथि उल्लेख गरिएका जस्ता साँचो ठेट लोकलयका गितहरु रेकर्ड गराउन सके साच्चिँकै यस्ता पुराना साँस्कृति जोगाउन सकिने थियो ।