16 September, 2017

बाढीपहिरोमा ज्यान गुमाउने छन्त्याल परिवारहरुलाई पोर्तुगलबाट ९० हजार सहयोग

गत साउन २० गते पश्चिम बागलुङको भिन्नाभिन्नै स्थानमा खसेको पहिरोमा परि ज्यान गुमाउने मृतक परिवारका सदस्यलाई भाद्र १२ गते राहत वितरण गरिएको छ ।

पहिरोमा परी ज्यान गुमाउने निसीखोला गाउँपालिका - २, बाहुनगाउँका मनिमान छन्त्याल सहित ४ जनाको परिवार, तथा निसिखोला गाउँपालिका - १ हुल्दीकी खगिसरा सिञ्जाली र ढोरपाटन नगरपालिका - ५, पाखापानीका ओमप्रकाश कामीको परिवारका सदस्यलाई पोर्तुगल र दक्षिण कोरियामा संकलन गरिएको राहत रकम वितरण गरिएको हो ।

निसीखोला गाउँपालिकाको जुग्जाखोलामा सम्पन्न राहत वितरण कार्यक्रममा ढोरपाटन बुर्तिबाङ स्पोर्टस ग्रुप, पोर्तुगलका झकास भण्डारीसहितको टोलीले संकलन गरेको रकमले मृतक ६ जनाको परिवारलाई जनही ११ हजार १९० का दरले कुल ६७ हजार १४० रुपैयाँ वितरण गरिएको छ । राहत रकम मृतक मनिमान छन्त्यालका छोरा मनबहादुर छन्त्याल र मृतक खगिसरा सिञ्जालीका छोरा लालबहादुर सिञ्जालीलाई वितरण गरिएको थियो । यता ढोरपाटन नगरपालिका वडा नं. ५ पाखापानीका ओमप्रकास कामीका भाई गुञ्जमान कामीलाई पनि ११ हजार १ सय ९० रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।

यसैगरी पोर्तुगलबाटै टेकबहादुर रानाले २२ हजार २१ रुपैयाँ रेमबहादुर छन्त्यालको नाममा पठाएका छन् । 

निसीखोला गाउँपालिकाबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले संकलन गरेको रु ६७ हजार २०० पनि वितरण गरिएको छ । मृतकका परिवारलाई ४ हजारका दरले र घर पूर्ण रुपमा क्षती भई विस्थापित भएका हुल्दीका २३ घरपरिवारलाई प्रतिपरिवार १ हजार ८ सयका दरले राहत रकम उपलब्ध गराएको छ ।

साउन २० को भीषण पहिराले निसीखोला गाउँपालिका—२, बाहुनगाउँमा बर्ष ६६ का मनिमान छन्याल, उनकी श्रीमति वर्ष ६३ की नन्दकली छन्त्याल, बुहारी २२ बर्षिया बिन्दु छन्त्याल र छोरी १८ बर्षिया गिता छन्त्यालको ज्यान गएको थियो । त्यस्तै, निसीखोला गाउँपालिका—१, हुल्दीकी ७५ बर्षिया खगिसरा सिञ्जाली र ढोरपाटन नगरपालिका—५, पाखापानीका ५४ बर्षिय ओमप्रकाश कामीको पनि ज्यान गएको थियो ।

राहत वितरण कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभाकुमारी कार्की, वडा नं. १ का अध्यक्ष इन्द्रबहादुर मल्ल, वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा, नेपाली कंग्रेसका क्षेत्रीय सभापति द्रोण कुँवर, ढोरपाटन बुर्तिबाङ स्पोर्टस ग्रुप, पोर्तुगलका नेपालका तर्फबाट प्रतिनीधि खडक कुँवरको उपस्थिति रहेको थियो ।