04 August, 2017

बाढी पहिरोमा परी ६७ वर्षका मनिमान छन्त्यालसहित एउटै परिवारका चारजनाको ज्यान गयो

बागलुङ, साउन २० – बागलुङमा पहिरोको कारण ६ जनाको ज्यान गएको छ । निशीखोला–२ मा पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको ज्यान गएको छ । 

ज्यान जानेमा ६७ वर्षका मनिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र छोरी गीता छन्त्याल रहेको निशीखोला–२ का वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो ।  

निरन्तर वर्षाका कारण पहिरो जाँदा ढोरपाटन नगरपालिका–५ मा एक जना र निशीखोला गाउँपालिकामा चार जनाको ज्यान गएको हो ।  

ढोरपाटन–का ५५ वर्षका ओमप्रकाश कामीको घरमाथिबाट आएको पहिरोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् । 

निशीखोला–१ हुँल्दीमा पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजालीको ज्यान गएको प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो ।   

पहिरोले विभीन्न ठाउँमा गरी आधा दर्जन घरमा क्षति पुर्‍याएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

बाढी प्रभावित क्षेत्रमा वेपत्ताको खोजी तथा पहिरोको निरीक्षणका लागि जनप्रतिनिधि र प्रहरीको टोली पुगको छ ।  – उज्यालो अनलाईन

मृतक आत्माहरुको चीर शान्तिको कामना र शोक सन्तप्त परिवार तथा आफ़न्तजनमा हामी हार्दिक समवेदना प्रकट गर्दछौ !